काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन्।
मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उनले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए।
‘देशभरिको सुकुम्बासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ।’
मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसानले पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताए।
किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्रीले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताए। ‘उखु किसानको झन्डै रु ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ। मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ। उखुको न्यूनतम मूल्य पनि निर्धारण गरिएको छ,’ उनले भने, ‘दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु।’
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।