काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको बताएका छन्। डा डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शुक्रबार सांसद वाग्लले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको आरोप लगाए।
उनले भने, ‘यस्तो देशमा वैदेशिक सहायता दिने देशहरुले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ। वैदेशिक सहायता निकायहरुले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्छ।’
अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको आरोप लगाउँदै वाग्लेले ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए। वैदेशिक एजेन्सीहरुले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरुमा निरपेक्ष रुपमा आर्थिक मितव्ययिताका लागि सर्त आवश्यक रहेको उनको भनाइ थियो।
सांसद वाग्लेले प्रदेश सरकारहरुलाई पञ्चवर्षीय योजनाहरु बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरुको आवश्यकता नभएको जिकिर समेत गरे। ‘सरकारले बनाउने नीतिमा लैंगिक,धार्मिक,जातीय अवस्थालाई समावेश गर्ने खालका नीतिहरु बनाउनसके संघीयता त्यसको एउटा अंश हुन सक्छ।’
उनले नेपालले अल्पविकसित मुलुक (एलडीसी) भएकै कारण पाउनु पर्ने ग्राण्ट (अनुदान) लगभग शून्य अवस्थामा रहेको बताए। विश्व बैंक, एडीबीहरुको सहयोग पनि भूराजनीतिको कारण आइरहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।