काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको बताए।
बिहीबार मधेस प्रदेशको सम्मेलनमा सम्बोधन गर्दै थापाले भने, 'जनता आज कुशासनका कारण रिसाएका छन्। भ्रष्टाचारका कारण रिसाएका छन्। कुनै एक बिहान उठ्दै गर्दा सुन काण्डका बारेमा सुन्नुपर्छ। कुनै दिन उठ्दै गर्दा शरणार्थी काण्डका बारेमा सुन्नुपर्छ। कुनै दिन एनसेल काण्डका बारेमा सुन्नुपर्छ। आजभोलि फेरि स्टक एक्चेन्ज काण्डका बारेमा सुन्दैछौँ। एकपछि अर्को काण्ड र भ्रष्टाचारको कुरा सुन्दै गर्दा जनता रिसाएका छन्। अनि त्यो रिसाएको जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेले कुशासनका कारणले यो भयो भन्दैन, गणतन्त्रका कारणले यो भयो अब गणतन्त्र खारेज गर्नुपर्छ भन्छ।'
थापाले थपे, 'खेतमा खेती गर्ने किसानले मल पाउँदैन। मल पाएका किसानको उत्पादनले बजार पाउँदैन। घर भएकाको भाडा लाग्दैन। भाडामा बस्नेले तिर्न सक्दैन। साहु ऋण फिर्ता पाउँदैन। ऋण लिएकाले साउँ ब्याज तिर्न सक्दैन। जताततै समस्या छ। समस्याबाट नागरिक आजित भएका छन्। रिसाएका छन्। थुप्रै आर्थिक सुधारका कामहरू गर्नुपर्ने छ। तर जसले उचाल्दै छ। उसले संघीयताको कारणले यो भएको छ भन्दिए पुग्छ।'
उनले यस्तो बेलामा नेपालका राजनीतिक दलहरू के गरिरहेका छन् भनेर ध्यान पुर्यारउनुपर्ने बताए। 'एमालेको धारणा तपाईंहरूले सुनिराख्नुभएको छ। तमाम कुरा उठिराख्दा ऊ एउटा कुरा भनिरहेको छ, यो देश बिग्रिनेवाला छ। थप बिग्रिन्छ। जबसम्म हाम्रो बा सिंहासनमा बस्नुहुन्न। त्यो बेलासम्म देश बिग्रिने निश्चित छ'. उनले भने।
नयाँ पार्टीहरुले पनि तीस वर्ष पनि देश बिग्रिएको र अर्को पाँच वर्ष पनि देश बिग्रिने बताउने गरेको भन्दै थापाले असन्तुष्टि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।