जनकपुरधाम– नेपाली कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएको छ। बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षको विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएको हो।
सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरे पनि असन्तुष्ट पक्षले असहमति राखेका छन्। सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका थिए भने पदाधिकारीहरूलाई मञ्चमा राखिएको थियो।
तर, पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा सहभागी भए पनि मञ्चमा बस्न मानेनन्। निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्। मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।
प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन्।
यसैबीच नेता शेखर कोइराला पनि मधेश सम्मेलनमा गएका छैनन्। सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यकर्ता भेटघाटमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।