काठमाडौं– पछिल्लो समय आफ्नो एउटा अभिव्यक्तिका कारण विवादित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्मका आस्थावानको ‘अभिभावक’ भएको बताएका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै किरातीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न अपिल गरेका छन्।
मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्–
बहसको लागि सबैलाई धन्यवाद!
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिन भन्नु सरह रहेको भन्ने अभिव्यक्ति दिएका थिए। उनको भनाइ थियो, ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ। क्रिश्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देश द्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो,’ किरातीले भनेका थिए।
उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले चर्को आलोचना भइरहेको छ। केही दलका नेताले उनले पदबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।