काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुरुङ निर्माणका लागि विष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए। खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने उनको माग छ। उनले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने दाबी गरे।
उनले भने, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ। नेपाल सरकारले समयमा गर्छु भनेर सुरु गरेको विकास निर्माण अवरोध पुर्याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो। प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाईं नै हो। प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ। कसले नेपाल सरकारले गर्ने हो। विष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन। खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो। यसलाई मन्त्रिपरिषद्ले निर्णय नगरी टुंगिदैन। ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्याउने पनि सरकार नै हो। अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन। यो ०९०, ०९२ पुग्छ।’
फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताए। उनले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर गरेर यो बैठक राख्नुभयो। निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रुपमा यो विषयलाई उठाउनुभएको छ। यो समितिको विषय हो कि होइन? समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो। कहिले कहीँ हुन्छ। संसद्को गरिमासँग जोडिने कुरा हो। यो विषय हल्का रुपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।