काठमाडौं– कहिलेकाहिँ जीवनमा त्यस्तो मोड आइदिन्छ, जहाँबाट मान्छेले बाँचिरहेको जीवनभन्दा फरक र नयाँ यात्राको थालनी हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना जैसवालको जीवनमा पनि त्यस्तै मोड आयो, जुन मोडले उनलाई सोच्दै नसोचेको राजनीतिको बाटोतिर डोर्यायो। जसबारे उनले सोचेकी थिइनन्, यति छिटो र छोटो समयमै राजनीतिमा यति ठूलो फड्को मारिएला।
उनको राजनीतिक यात्रा २०७९ सालबाटै भयो। स्थानीय तह निर्वाचन थियो, विगतमा बलियो भए पनि पछिल्लो समय राप्रपा कमजोर रहेको वीरगञ्ज उप-महानगर पालिकामा उनी उपमेयरमा प्रतिस्पर्धा गरिन्। पारिवारिक पृष्ठभूमि राप्रपा हुनु पनि निर्वाचनमा होमिनुको अर्को कारण बन्यो।
त्यतिबेला उनी गर्भवती थिइन्। उपमेयरमा उठेपछिको दौडधुपले त्यसपछिको थकान उत्तिकै थियो। तर, थकानभन्दा बढी उनमा उत्साह थियो। उपमेयरमा जैसवालले ६ हजार बढी भोट ल्याइन्। त्यो भोट जितका लागि पर्याप्त थिएन। उनी सम्झिन्छिन्, ‘तर, त्यसले जितभन्दा बढी खुशी दियो।’ त्यतिमात्रै होइन, त्यही चुनावले नै उनलाई राजनीतिक अनुभव बटुल्ने मौका पनि दियो।
मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मधेशी महिला कोटाबाट समानुपातिक सांसद हुने अवसरको जग त्यही स्थानीय निर्वाचन बन्यो।
तीन महिनाको छोरी लिएर संसद्
विगतमा राजनीतिमा कुनै चासो नराख्ने जैसवाललाई सांसद पद भने सधैं गरिमामय र सम्मानजनक लागिरह्यो। सुरुमा संसद्भित्र केही असहज महशुस भयो। उनी संसदीय अनुभव सुनाउँदै भन्छिन्, ‘अहिले सिक्दै जाँदा भने हामी पनि काम गर्न र प्रतिस्पर्धा गर्न सक्छौं भन्ने आत्मविश्वास आइसकेको छ।’
प्रतिनिधि सभा जाँदा सुरुवाती दिनमा उनी साढे तीन महिनाको छोरीलाई सँगै लिएर जान्थिन्। त्यतिबेला अर्को छोरी साढे तीन वर्षको थिइन्। त्यसअघि छोरीलाई छोडेर हिँडेको अनुभव उनीसँग थिएन। संसद् यात्रा तय भएपछि ठूली छोरीलाई कहिले काठमाडौं त कहिले वीरगञ्ज छोड्नुपर्ने बाध्यता आइलाग्यो।
‘त्यसरी छोरीलाई छोडेर छुट्टिनु पर्दा मन निकै भारी हुन्थ्यो,’ उनले भनिन्, ‘राजनीतिक मान्छे कतिबेला कहाँ मिडिया र जनतासँग ठोक्किनुपर्छ थाहा हुँदैन। त्यसले पनि छोरीलाई सधैं सँगै लैजान गाह्रो भयो।’ त्यसका बाबजुद पनि परिवार र श्रीमान्बाट पाएको साथ, सहयोग र हौसलाले उनलाई दुखी हुने छुट दिएन।
कहिलेकाहिँ आफैसँग छोरीलाई लिएर संसद् गइरहेकी छिन्। घरमै छोडेर गएको दिन दुई-तीन घण्टाको बीचमा दूध खुवाउन इमाडोल पुग्छिन्। र, फेरि फर्केर संसद् आउँछिन्। कहिले बच्चालाई गाडीमै राख्थिन् र कार्यक्रम अथवा संसद् चलिरहेको बेला बीचमा गाडीमा गएर दूध खुवाउँथिन्। विस्तारै बोत्तलबाट दूध खुवाउन थाले पनि त्यो क्रम कम हुँदै गयो।
संसद्भित्र छोरी सम्झिँदा...
संसद्भित्र सांसद शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो भएर बस्नुपर्ने हुन्छ। त्यहाँ रहुन्जेल बाहिरको सबै वातावरण बिर्सिनुपर्ने हुन्छ। नयाँ भइसकेपछि त त्यस्तो सतर्कता अझै बढी आवश्यक हुन्छ। तर, कोठामा छोरी हेर्न परिवारको पाको सदस्य नहुँदा जैसवालले कहिले काम गर्ने दिदि, कहिले देवर त कहिले श्रीमान्को भरमा छोड्थिन्। र, संसद् पुग्थिन्।
एउटा आमालाई दुई-तीन महिनाको सन्तान घरमा छोडेर आउनुपर्दाको मानसिक र भावनात्मक पीडाको गहिराई कति हुन्छ? त्यसको गहिराई न उनी कसैलाई देखाउन सक्छिन्, न त अभिव्यक्त गर्न नै। गर्न सकिन्छ त केबल अनूभुति।
उनी सुनाउँछिन्, ‘त्यसैले सुरुवाती दिनमा संसद् चलिरहँदा भित्र मात्रै केन्द्रित हुन गाह्रो भयो।’ उनलाई लागिरहन्थ्यो, ‘बच्चालाई भोक लाग्यो कि, कतै रोइरहेको छ कि!’ संसद्को मानसिक तनावबीच सँगै थपिएको हुन्थ्यो भावनात्मक तनाव।
संसद्भित्रको अनुभव
संसद् बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र गएपछि भिन्न लागेको छ उनलाई। आम जनताले कानुन निर्माण गर्ने सांसद नै हुन् भन्ने लाग्छ। तर, नयाँ सांसद भएर भित्र गएपछि त्यहाँ पार्टीको ह्वीप लाग्ने र बहुमतले जित्ने रहेछ भन्ने थाहा पाएकी छिन्।
त्यसले भने उनलाई नमिठो अनुभूति गराउँछ। सँगै संसद भित्र महिला सक्षम हुँदा हुँदै त्यस अनुसारको अवसर नपाएको उनको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।