काठमाडौं– नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलनका क्रममा तानसेन नगरपालिकाको बोर्ड छोपेर कार्यक्रम गरिएकोमा कांग्रेसका महामन्त्री गगन थापाले माफी मागेका छन्। उनले त्यस क्रममा लापरबाही भएको भन्दै क्षमा याचना गरेका हुन्।
‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो, तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही हो।’
उनले यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु आफ्नो गल्ती भएको बताएको स्वीकारेका छन्। ‘त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ’, उनको भनाइ छ।
मंसिर ३० गतेको सो कार्यक्रममा नगरपालिकाको बोर्ड छोपिएको थियो। साथै, जिल्ला सम्मेलनसँग सम्बन्धित बोर्डहरू टाँगिएको थियो। एउटा पार्टीको कार्यक्रमका लागि सम्पूर्ण भवन नै कब्जा गरिएको भन्दै विरोध भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।