काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन्।
मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका बिभिन्न सार्वजनिक निकायका प्रमुखहरु माझ खरो रूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन्। आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो।
देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो। ‘कानुन विपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीताका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस्।’
देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गरे। यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने, ‘तपाईंहरुको कामबाट म खुसी छैन, इमान्दारीताका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।