काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।
वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबीसमेत गरे।
संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन? भन्दै प्रश्नसमेत गरे।
उनले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे। वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाइ थियो। उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्याए।
उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसद्को अंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।