काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बानेश्वर चोकमा न्याय किनबेच हुने दिनको अन्त्य भएको दाबी गरेका छन्।
न्याय सेवा दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले ‘ब्रिफ–केश’ बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था बारकै आन्दोलनका कारण अन्त्य भएको दाबी गरेका हुन्।
‘ब्रिफ–केश बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था अहिले छैन, त्यो बारकै आन्दोलनका कारण हो’, अध्यक्ष घिमिरेको भनाइ छ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्यूनतम गर्नुपर्ने सेवा अवधिका सम्बन्धमा विचार गर्ने पो हो कि भन्दै प्रश्न गरेका उनले व्यक्तिका कारण व्यवस्था नै गलत हो भन्ने पक्षमा नेपाल बार नरहेको बताए। न्याय परिषद्ले आफ्नो ऐन संशोधन गर्दा आफूहरूलाई नसोधिएको भन्दै उनले समग्र सिस्टमको सुधारको पक्षमा लाग्दा आफूहरूले आन्दोलन नगरेको बताए।
‘तर हाम्रो विरोध जारी छ। मर्यादाक्रम फरक पर्नेगरी भएको संशोधनमा आपत्ति छ’, घिमिरेको भनाइ छ। उनले कर नतिर्ने कानुन व्यवसायीको लाइसेन्स नवीकरण नहुनेसमेत प्रस्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।