काठमाडौं- प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। उनको सम्बोधन भने समीक्षायुक्त हुनेछ।
‘एक वर्षका के-के कुरा पोजेटिभ गर्न प्रयास भयो, कति सफल र कति असफल भयो। कहाँकहाँ कमी रह्यो भन्ने कुराको म निष्पक्ष छानबिन गरेर राष्ट्रको नाममा सम्बोधनको तयारी गर्दैछु’, मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उनले भने।
उनले आउने दिनमा नयाँ ढंगले जनतालाई विश्वासमा लिने किसिमले भूमि सम्बन्धी विषयमा, वन सम्बन्धी विषयमा, प्रदेशहरूलाई बलियो हुने विषयमा, संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन जस्ता विषयहरूमा अलिकति 'बोड्ली' जान चाहेको बताए।
नेपालीहरूको आशा मर्न थालेको भन्दै उनले जनतामा आशा जगाउन चाहेको बताए। जनताको आशा मर्योच भने त्यो देशका निम्ति दुर्भाग्य हुने उनको भनाइ छ।
‘फेरि आशा जगाउने ढंगले एक पटक म बल गर्न खोज्दैछु। कहिलेकाहीँ मलाई लाग्छ, मैले नै योपटक गर्नुपर्छ, अरुले गरेर हुँदैन यो काम। मैले गर्नुपर्छ। किनकि, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी सबैको पहिचान, अधिकार जे जति भयो। त्यसमा नेतृत्वदायी भूमिका खेल्ने अवसर नेपाली जनताले दिएको हुनाले मैले गर्नुपर्छ भन्नेमा छु’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले नेपाल खत्तम छ, नेपाल सिद्धिसक्यो, यहाँ भ्रष्टाचारबाहेक केही पनि छैन, यहाँ कुनै रोजगारी छैन, यहाँ केही विकास हुँदैन, त्यसकारण यो देशमा बस्नु बेकार छ भन्दै विदेश जाने जो प्रक्रिया चलेको भन्दै आफू त्यस किसिमको भाष्यप्रति असहमत रहेको बताए।
‘म अहिले जनतालाई अपिल गर्दैछु, होइन, नेपाल सुन्दर छ। नेपालमा प्रशस्त साधन स्रोत छ। उर्बरा जमिन छ। पानी छ। हिमाल छ। गर्न सक्यो भने यहाँ धेरै चिज छ। केही पनि छैन, सिद्धिसक्यो भन्ने भाष्य गलत छ’, उनले भने।
प्रचण्ड २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। तर केही महिनामै उनले एमाले लगायतका दलको साथ छोडेर कांग्रेस, एकीकृत समाजवादी लगायतका दल रहेको पुरानै गठबन्धन ब्युँत्याएका थिए। अहिले उनी सोही गठबन्धनको साथमा प्रधानमन्त्रीमा कायम छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।