काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्रीका विषयमा आफू धेरै गम्भीर रहेको बताएका छन्। उनले राष्ट्र र जनताको हितका विपरीत हुन खोजेको चलखेललाई रोक्नका लागि अन्तिम लडाइँ लड्ने भरे आफू अगाडि बढेको पनि बताए।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म जस्तोसुकै मूल्य चुकाउनुपर्योक भने पनि राष्ट्र र जनतालाई क्षति हुने काम गर्न दिन्नँ भनेर अगाडि बढेको हो।’
प्रचण्डले सरकारद्वारा गठिति समितिका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको पनि जवाफ दिएका थिए। उनले नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था भएको र त्यस अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले प्रचलित कानुन बमोजिम सेयर खरिद बिक्री भए नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने उनले बताए। ‘उसलाई त्यसो गर्न समिति गठनले कहीँ रोकेको छैन। रोक्ने मनशाय राखेको पनि छैन’, उनले भने।
प्रधानमन्त्रीले खरिद बिक्री प्रक्रियामा राजस्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावको बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको बताए।
‘यस समितिको कामकारबाहीबाट नियामकको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप र असर पार्दैन। यो कुरा सचेत रुपले गरिएको छ। त्यसकारण नियामकले आफ्नो भूमिका कानुनतः पूरा गर्छ’, उनले भने।
समिति गठनका बेलामा सञ्चार मन्त्रालय, मन्त्री, सचिवदेखि लिएर दूरसञ्चार प्राधिकरण लगायत सबै सम्बन्धित निकायहरू सँगै बसेर यसरी जानुपर्छ भन्ने निष्कर्षको आधारमा गठन गरिएको बताए। उनले छानबिन समितिमा उपयुक्त व्यक्तिहरू राखिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।