काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्। संघिय प्रणाली असाध्यै खर्चिलो भएको केसीको भनाइ छ।
मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।
संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरु पाल्नुपरेको केसीको भनाइ छ। सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ? भन्दै केसीले प्रश्न गरे।
संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको केसीको भनाइ छ। प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने केसीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।