काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा कहीँ कतैबाट कानुनविपरीतका कामकारबाही भए गरेको पाइएमा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा सरकारको तर्फबाट भइरहेको कारबाहीको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले यस प्रकरणका विषयमा सरकारलाई सुरुदेखि नै सहज नलागेको र निर्देशन पनि दिइएको बताए। ‘यो सहज छैन। स्वाभाविक छैन’, उनले भने, ‘यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नुपरेको हो। यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो।’
प्रधानमन्त्री प्रचण्डले मंसिर १८ मै एनसेलको शेयर खरिद बिक्रीमा चासो राख्दै तत्काल अध्ययन गर्न राजस्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका थिए।
त्यस्तै मंसिर २१ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो। पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले काम सुरु गरिसकेको छ। समितिलाई ३० दिनको समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।