नुवाकोट- अर्थमन्त्री डा प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव स्वर्णजयन्तीमा डा महतले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुन सक्छ। बाढी-पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन।’
शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै आफूलाई अगाडि सार्नुपर्ने उनले बताए। अर्थमन्त्री महतले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइँ सरे। शिक्षामा कसैले वास्ता गरेन। जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो।’
आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउँदै उनले नुवाकोटलाई आफूले सधैं प्राथिमकता दिने उल्लेख गरे। मन्त्री डा महतले भने, ‘समर्पण र इमान्दारिताका साथ काम गर्ने कोशिस गरिरहेका छौं। मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु।’
काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न थाल्छ । लगानी भित्रिन थाल्छ, जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीयको आम्दानी बढ्न थाल्छ । हामी समृद्धि हुने बाटोमा जानुपर्छ, मन्त्री डा. महतले भन्नुभयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।