काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गको यात्राले पार्टी वैचारिक र जानकारीका हिसाबले अझ समृद्ध भएको बताएका छन्। गत मंसिर १४ गतेदेखि सुरु भएको 'संकल्प यात्रा'को अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा आइतबार सम्बोधन गर्दै ओलीले समग्र यात्रालाई 'महान् यात्रा' भन्दै त्यो पूर्ण रुपमा सफल भएको बताए।
देशको अवस्था बिग्रँदो रहेको र गठबन्धनले जनतामा निराशा फैलाउने काम गरेको ओलीको आरोप थियो। आफूहरूको अभियानले जनतालाई निराशाबाट मुक्त गरेको र आशावादी बनाएको उनको दाबी थियो। अभियानले जनतामा पुनर्जागरण र पुनःसक्रियताको अवस्था आएको उनको भनाइ छ। 'यो पार्टी विशेषमा मात्रै होइन। र हाम्रो पार्टी विशेषमा मात्र होइन। अरु पार्टीहरूमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। पार्टीमा मात्रै होइन, अरुमा पनि प्रभाव परेको छ', उनले भने।
उनले अब देशको राजनीति अहिलेकै जस्तो गरी अलपत्र अवस्थाबाट चल्न नहुने बताए। सही बाटो र निकास निकाल्नुपर्ने उनको जोड थियो। 'अलमलमा राष्ट्रको समय खेर फाल्नु हुँदैन', उनले भने, 'यहाँ राष्ट्रको समय खेर गइरहेको छ। देशको समय खेर गइरहेको छ। जनताको एउटा आयु, जनताको एउटा पिढीको अवधि खेर गइरहेको छ। आउँदो पिढीको भविष्य अप्ठ्यारोतर्फ, धरापतर्फ धकेलिँदैछ। यस्तो स्थितिबाट देशलाई जोगाउनका लागि यस संकल्प यात्राले असाधारण योगदान गरेको छ भन्ने मैले ठान्छु।'
यात्राका क्रममा आफ्ना ठाउँका विशेषता, क्षमता, परिचय, समस्या, आवश्यकता, समस्याको समाधान लगायतका विषयहरूमा ध्यानाकर्षण गराइएको र ज्ञापनपत्र प्रस्तुत गरिएको भन्दै ओलीले आफूहरूको बुझाइलाई सहयोग पुर्याएको बताए।
यात्राका क्रममा मौसमले पनि साथ दिएको उनको भनाइ थियो। करौडौं थुंगा फूलहरू आफूहरूकै लागि फुले जस्तो गरेर यात्रामा समर्पितको उनले बताए। 'सांस्कृतिक कुरा, विभिन्न सांस्कृतिक झाँकी र पहिरनदेखि लिएर अनेक कुराहरू पनि हामीले ग्रहण गर्यौं। हामीले पनि त्यसमा सहभागिता जनायौँ। हामीले पनि त्यसको प्रयोग गर्यौं। स्थानीय खाना, स्थानीय पहिरन, स्थानीय वाद्यवाधन, स्थानीय नृत्य, स्थानीय संगीत, स्थानीय अरु कुराहरू, अनेक कुरासँग हामी परिचित भएर सँगसँगै पनि हामी हिँड्यौँ। यसरी यो यात्रा अत्यन्त सफल भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।