काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्। आइतबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमा नै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै उनले मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे। मन्त्री ज्वालाले विगतका सरकारले पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाहरुको भार बोक्न बाध्य रहेको आरोप लगाए।
उनले भने, ‘आयोजनाहरुको तयारी विना टेण्डरपछि समस्या आउँछ। र, आयोजनाहरुको समय लामो हुन्छ। अब सरकारले विना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा नै लैजाँदैन।’
मन्त्री ज्वालाले बहुवर्षिय ठेक्का मापदण्डअनुसार आयोजनाहरुको ठेक्का लाग्न ईआईए,आईएई र डीपीआर पूरा हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय सरकारले काम नगर्ने आयोजनाका ठेक्काहरु तोड्ने कामहरु पनि गरिरहेको उल्लेख गरे। ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाहरुमा ठेक्का तोड्न नसकिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।