काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन्। पाँचथरको फिदिममा शनिबार आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने धारणा राखे।
पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने बताए। उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताए।
ओलीले भने, ‘म असहमति राख्ने साथीहरु सबै पार्टी, सबै समूहलाई भन्न चाहन्छु- दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन। मतभेदहरु हुन सक्छन् तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट धैर्यतापूर्वक समाधान गरिनुपर्छ।’
शान्ति चाहिएका बेला विविधतामा अल्झियौं आन्तरिक द्वन्द्व, वैमनष्यता, आशंका, अविश्वास, तनाव सिर्जना गर्छ भन्दै ओलीले त्यसबाट सबै गरिबका गरिब रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।