काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडामा शनिबार मानव सेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए।
‘विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ। मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्तिको सन्देश पनि नेपालले नै दियो। मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ। यहीबाट नेपाललाई चिनाउन सकिन्छ।’ मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उनले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।
‘भिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो। कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो,’ रधानमन्त्रीले भने। उनले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गरे।
संविधान सभाबाट जारी संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानमा उल्लेख गरिएको थिएन। संविधान सभाबाट बनेको पहिलो संविधानमा नेपाली जनतालाई सार्वभौम बनायो, यो युगान्तकारी र ऐतिहासिक छ।’
संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायत महत्वपूर्ण मौलिक अधिकारलाई समावेश गरिएको जनाउँदै उनले आम जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित हुन नपर्ने घोषणा ऐतिहासिक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।