काठमाडौं– रामायणकालीन पात्र रामको जन्म नेपालमै भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वास गरेको आशय व्यक्त गरेका छन्। शनिबार हेटौंडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन समारोहमा उनले सो प्रसंग उल्लेख गरेका हुन्।
‘पौराणिक कथा होलान्, तर शिव पार्वतीको स्थल त हिमाल नै हो नि त। यही हो भनेर दुनियाँले मानेकै छ। शिव पार्वती अहिले पनि कैलाशमा त छन् नै भन्ने प्रचार पनि दुनियाँमा धेरैले विश्वास गरेर हिँडेकै छन्। सीता जनकपुरमा जन्मिएको भन्ने पौराणिकता त स्थापित नै छ। हुँदाहुँदा अहिले त रामचन्द्र पनि यतै कतै जन्मिएको भन्ने पनि हुन थालेको छ’, उनले भने।
नेपालको प्रकृति, हिमाल, नदीनाला, पहाड, छहरा, हावापानी, तराई सबैको कारणले नेपालमा अद्भुत अद्भुत अनुसन्धानहरू र विश्वलाई केही सन्देश दिने कुरा परापूर्व र पौराणिक कालदेखि हुँदै आएको प्रधानमन्त्रीको भनाइ थियो।
उनले नेपालमा पौराणिक कालका गौरवहरू र ऐतिहासिकता भएको बताए। ‘आधुनिकतामा पनि गौतम बुद्धदेखि लिएर थुप्रै त्यस्ता ज्ञानको भण्डार नेपालले दुनियाँलाई दिएको छ। यो त्यस्तो भूमि हो। हामी त्यस्तो भूमिका मान्छेहरू हौँ। अहिले मानवतासम्बन्धी नयाँ सन्देश नेपालले दिन सक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।