काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय समितिमा सुनुवाइ सुरू भएको छ।
शुक्रबारदेखि उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरू भएको हो। पहिलो चरणमा न्यायाधीश सारंगा सुवेदीको सुनुवाइ भएको थियो। त्यसपछि अब्दुल अजिज मुसलमानको सुनुवाइ भएको हो।
उनीहरु दुवै उच्च अदालतबाट सिफारिस भएका न्यायाधीशहरु हुन्। संसदीय सुनुवाइ समितिमा उनीहरुविरुद्ध उजुरी पनि परेको थियो। न्यायाधीश सुवेदीविरूद्ध सबभन्दा धेरै उजुरी परेका छन्।
उनीविरूद्ध ६ वटा उजुरी परेको छ भने अब्दुलविरूद्ध एउटामात्र छ। सारंगाविरूद्ध धनुषाकी आरती साहको हत्या भएको घटनासम्बन्धी आदेशविरूद्ध उजुरी परेको हो। जिल्ला अदालतले थुनछेक बहसपछि आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर, उच्च अदालतले उनीहरूलाई साधारण तारेखमा छाडिदिएको हो। यही मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सारंगाविरूद्ध आरती साहका आमा र बुवाले उजुरी दिएका हुन्।
अब्दुलविरूद्ध अंश मुद्दाको फैसलामाथि उजुरी परेको छ। सुनुवाइ समितिले उजुरीमाथि छलफलपछि सुनुवाइ सुरु गरेको हो। न्याय परिषद्ले उनीहरू दुई जनासहित ६ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।
उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल र सुनिल पोखरेल पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्। आज दुई न्यायाधीशको मात्रै सुनुवाइ हुन लागेको हो।
बाँकी ४ न्यायाधीशको सुनुवाई आइतबारवाट निरन्तर हुने छ। संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि परिषद्ले ६ जनाको मात्र नियुक्तिका लागि सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।