काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले महोत्तरी जिल्ला अदालतको फैसलाले प्रदेश सभा सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका छन्।
उनले उक्त फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै यस्तो माग गरेका हुन्। महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको दाबी गरेका छन्।
महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरुलाई जन्मकैदको सजाय सुनाएको छ। यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले टिप्पणी गरेका छन्।
उनले मधेश आन्दोलनका बेला उठाएको अजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रनसमेत आग्रह गरे। महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रहसमेत गरेका छन्।
‘सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।