काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि धरौटी बुझाएर रिहा भएका छन्।
खाण शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाण बिहीबार उच्च अदालत पाटनको आदेशपछि रिहा भएका हुन्।
उच्चले धरौटी माग गरेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार पेस गरिएको थियो। सम्पत्ति शुद्धीकरणले धरौटी माग गर्यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन बोलाएको दिन आउने गरी रिहा भएका हुन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य गरेको अभियोगमा अनुसन्धानका लागि खाण वैशाख २७ गते आफ्नै निवासबाट पक्राउ परेका थिए।
उनीसँगै थुनामा रहेकामध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जना भने पूर्पक्षका लागि थुनामै छन्। धरौटी माग भएका केही प्रतिवादीहरु मंसिरको दोस्रो साता नै छुटेका थिए। खाणको हकमा राय बाझिएपछि थुनामै रहेका थिए।
उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलकाबीचमा राय बाझिएको थियो। न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गरेका थिए भने न्यायाधीश प्रकाश खरेल थुनामै राख्नुपर्ने राय दिएका थिए।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।