काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त, पूर्व गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। उच्च अदालत पाटनको आदेशानुसार खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन्।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले बिहीबार उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध खाणले दायर गरेको पुनरावलोकन निवेदनमा यसअघि उच्च अदालतका २ जना न्यायाधीशको राय बाझिएको थियो। संयुक्त इजलासमा २ जना न्यायधीशको राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा खाणको निवेदनको पेसी तोकिएको थियो।
न्यायाधीश कोइरालाले यसअघि संयुक्त इजलासमा प्रस्तुत ‘३० लाख धरौटी लिएर तारेखमा राख्नुपर्ने’ रायलाई समर्थन गरेपछि खाण रिहा हुने बाटो खुलेको हो। यद्यपि उच्च अदालतको आदेशसँगै खाण तत्कालै रिहा भने हुने छैनन्। खाणलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोगमा पेस गरिनेछ।
काठमाडौं जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाइएपछि खाणलाई सम्पत्ती शुद्धीकरण विभागमा लगिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत देश पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गर्दै भ्रष्टाचार गरेको र अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै खाणविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले छुट्टा–छुट्टै अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।