काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाले सुरु गरेका प्रगतिशील कामहरुबाट संघीय सरकारलाई समेत उत्प्रेरणा पैदा गरेको बताएका छन्। पछिल्लो समय सुरु भएका कामहरु प्रशंसनीय रहेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।
काठमाडौं महानगरपालिका घोषणा भएको २९औं वर्षको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार भएको बताए।
‘पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु। शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढाएर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमूना प्रस्तुत गर्ने पनि प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।
‘मेरो विश्वास छ– काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढाएर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमूना प्रस्तुत गर्नेछ,’ प्रधानमन्त्रीले भने, ‘यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधै तत्पर रहेको पनि अनुरोध गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरू मध्येको एक सांस्कृतिक शहर भएको उल्लेख गरे।
‘यहाँ विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाझ चिनाएको छ,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।