काठमाडौं– सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई दोषी ठहर गरेको छ।
जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीसहित सात जनालाई जन्मकैद र एम्बुलेन्स जलाएको आरोपमा ६ महिना थप कैद गर्ने सजाय सुनाएको हो।
जिल्लाले एमाले सांसद लक्ष्मी महत्तो कोइरी र पवन कापरलाई भने सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नूतन झाले जानकारी दिइन्।
न्यायाधीश भट्टराईको इजलासले प्रदेश सांसद शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको हो।
फरार रहेका अन्य आरोपितको हकमा भने अदाललते मुद्दा मुल्तवीमा राखिएको छ। उनीहरु पक्राउ परेलगत्तै उक्त मुद्दा पुन: जगाइने छ।
एमालेका प्रतिनिधि सभा सदस्य कोइरीसहित २८ जना जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते दर्ता भएको थियो।
मधेश आन्दोलनका क्रममा असई विक घाइते भएका थिए। उनलाई एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा बीच बाटैमा थुतेर हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।