काठमाडौं– सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत महोत्तरीले सात जनालाई जन्मकैदको फैसला सुनाएको छ।
बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले एम्बुलेन्सबाट थुतेर जघन्य रुपमा हत्या गरिएको ठहर गर्दै उनीहरुलाई दोषी ठहर गरेको जिल्ला अदालत महोत्तरीकी श्रेष्तेदार नूतन झाले बताइन्।
उक्त मुद्दामा नेकपा एमालेका निलम्वित सांसद लक्ष्मी महत्तो कोइरीसमेत संलग्न भएको अभियोगपत्रमा दाबी गरिएको थियो। तर जिल्लाले उनलाई सफाइ दिएको छ।
नेपाल सरकारको जाहेरीले जिल्ला अदालतमा कर्तव्य ज्यान र आगो लगाएको दुई मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। जिल्ला अदालतमा २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर भएको थियो।
जिल्लाले प्रदीप साह माझी, सजय साह, मोहन ठाकुर, रामशंकर मिश्र, भगिराम शर्मा, सुरेश पाण्डे, धर्मेन्द्र राईलाई जन्मकैदको फैसला सुनाएको हो। त्यस्तै उनीहरुलाई आगो लगाएको मुद्दामा थप ६ महिना कैद र १० लाख नेपाल सरकारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असइ विकको हत्या भएको थियो। सो हत्याको आरोपमा निलम्बित सांसद कोइरी, अभिराम शर्मा, कौशल कुमार यादव, राम शंकर मिश्र लगायतका २८ जना प्रतिबादी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।