काठमाडौं– महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न भएको अभियोगमा निलम्बित एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई सफाइ दिएको छ।
बिहीबार जिल्ला अदालतले कोइरीको संलग्ना पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो। जिल्ला न्यायाधीश उद्धव भट्टराईको इजलासले कोइरीलाई सफाइ दिएको हो।
महोत्तरी जिल्ला अदालतले सात जनालाई जन्मकैदको फैसला सुनाउँदा कोइरीसहित २ जनालाई सफाइ दिएको हो। विकको ०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।
घाइते विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट पनि थुतेर हत्या गरिएको थियो। हत्यालगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो।
तर, हत्याको आरोप लागेका कोइरीलाई नेकपा एमालेले जनता समाजवादीबाट पार्टी प्रवेश गराउँदै टिकट दिएको थियो। नेकपा एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए।
उनले पुस ७ गते सांसदको शपथ खाए। केही समय संसद्मा उपस्थित पनि भए। तर, प्रहरीले पक्राउ गरेन। नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनलाई लागेको हत्या अभियोगबारे प्रतिनिधि सभालाई लिखित जानकारी गराएको थियो। त्यस दिन उनले दिउँसो १ बजे शपथ लिएका थिए भने दिउँसो २ बजे प्रहरीको पत्र संसद्मा पुगेको थियो।
तर कोइरी फरार रहेको पत्र संसद् सचिवालमा पठाएपछि गएको वैशाख १९ गतेदेखि उनी निलम्बित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।