काठमाडौं– उच्च अदालत पाटनले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई अन्तत: धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेशलाई सदर गरेका छन्। बिहहीबार दुई न्यायाधीशको राय बाझिएपछि कोइरालाको एकल इजलासमा पेसी तोकिएको थियो।
उक्त इजलासमा बहसपछि उक्त आदेश गरेको हो। उच्चको उक्त आदेशपछि खाण रिहा हुने भएका छन्। खाणले अदालतले तोकेको धरौटी रकम वा बैंक ग्यारेन्टी वुझाएमा उनी रिहा हुने छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री हुँदा घुस लिएको र प्रत्यक्ष रुपमा संलग्न भएको भन्दै खाणलाई पक्राउ गरिएको थियो। खाणको हकमा मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएको थियो।
न्यायाधीश पाण्डेले खाणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए। अर्का न्यायाधीश खरेलले भने केही आधार देखाउँदै खाण निर्दोष रहेको भन्न नमिल्ने भनी आदेश गरेका थिए। उक्त आदेशपछि उनी तत्कालीन समयका लागि थुनामा रहेका थिए।
अब उनी धरौटी रकम बुझाएर अदालतबाट पत्र लिएर गएमा कारागारबाट रिहा हुने छन्। उच्चले खाणलाई धरौटीमा रिहा गर्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्न नदेखिएको दाबी गरेको छ। बहसका क्रममा पनि खाणका कानुन व्यवसायीले यही प्रश्न उठाएका थिए।
पूर्व महान्यायाधीवक्ता खम्वबहादुर खातीसहित बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसम्मले यस्तै तर्क अघि सारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।