काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा सरकारको कूल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड भएको छ। जसमध्ये चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पुँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको छ।
बिहीबार प्रस्तुत गरिएको राष्ट्र बैंकको प्रतिवेदन अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा जनाएको छ। चालु वर्षको सोही अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ।
यस्तै सरकारको कूल राजस्व २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ। यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड र गैर कर राजस्व २२ अर्ब ३४ करोड परिचालन भएको छ।
कात्तिक मसान्तसम्ममा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ। २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।