काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन्। सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको ओलीको भनाइ छ।
मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको ‘संकल्प यात्रा’का क्रममा भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका नेताहरु अहिले नै २०८४ सालमा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको दाबी गरे। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ‘मिसन ८४’ जनताको र हरेक नेपालीको ‘मिसन’ भएको दाबी गरे।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
ओलीले भने– ‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो। समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ। त्यो मिसन ८४ जनताको मिसन ८४ हो। नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो। तर मिसन ०८४ नेपालको मिसन ०८४ हो। नेपालीको हो। यो देशमा एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, यो देशमा सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकताबद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन सकेनौँ भने देश बर्बाद हुँदैछ। दिनदिनै देश ओराले लागिरहेको छ। नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाई वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ। यो अवस्थालाई रोकेर नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर। किनभने नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन्। राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर। सबैमा चिन्ता छाएको छ। तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्तत्त्वगत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।