काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको चौमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिहीबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन्।
बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ। त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
उपभोक्ता बजार चलायमान हुन नसकेको र राजस्व संकलन बढ्न नसकेको विषयमा प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयसँग निरन्तर चारो राख्दै आएका छन्। बिहीबार बस्ने बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।