काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन्।
बुधबार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए।
उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको उल्लेख गरे। उनले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए।
उनले भने, ‘कांग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ। जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ। पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन। हाम्रो गुट भित्र पनि समस्या भयो। शेखर दाई र गगन दाईको बीचमा समस्या आए। यो लुकाएर पनि हुँदैन। तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ। शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ।’
सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।