काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गरेका थिए।
साथै उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे। जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।