फाइल तस्बिर काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै महिला प्रधानमन्त्री होस् भन्ने इच्छा व्यक्त गरेका छन्। बुधबार काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा महिला प्रतिनिधित्व बढेको चर्चा गर्दै सो इच्छा व्यक्त गरेका हुन्।
'मलाई गर्व हुन्छ। अहिले संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व छ। स्थानीय तहमा ४० प्रतिशत महिलाहरूको प्रतिनिधित्व छ', उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधीश महिला भएर यो देशमा राम्रो कामको सुरुवात पनि भयो। अब एउटा बाँकी छ- प्रधानमन्त्री महिला। मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस्।'
उनले भ्रष्टाचारको केस लाग्नेमध्ये ९९ प्रतिशत पुरुष हुने तर महिला नहुने बताए। उनले सुशासनको पक्षमा, सामाजिक न्याय, उद्योग, अर्थतन्त्रको क्षेत्रमा सुधार ल्याउन पनि महिला उद्यमी अगाडि आउँदा प्रभावकारी परिणाम आउन सक्ने पनि बताए।
'सरकार यो पटक अर्थतन्त्रमाथिको दबाब कम गर्नका लागि, अन्तर्राष्ट्रिय स्तरमा नेपाल राष्ट्रको छवि र प्रतिष्ठा बढाउनका निम्ति, अन्तर्राष्ट्रिय सहयोग जुटाउनका निम्ति र देशभित्र सुशासन र सामाजिक न्याय कायम गर्नका निम्ति निरन्तर अगाडि बढेको छ। र निरन्तर अगाडि बढ्छ', प्रधानमन्त्रीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।