काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन्।
यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरिन्।
‘प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौं, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔं’, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले भनिन्। सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्त्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गरिन्।
मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिइन्।
नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै उनले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताइन्। सूचना प्रविधिलाई सरकारले महत्त्वपूर्ण साधनका रुपमा लिएको उल्लेख गर्दै उनले प्रत्येक सार्वजनिक निकायले प्रविधिका माध्यमबाट सेवा प्रवाह गर्न सुरु गरिसकेका जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।