काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।
नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन्। मानव जाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ। आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ।’
उनले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई शान्तिका निम्ति अपिल पनि गरे।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमणमा आएको प्रसंग स्मरण गर्दै भने, ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ। उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो।’
उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको बताए। उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।