काठमाडौं– नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले खोटाङबाट ३ जनालाई पक्राउ गरेको छ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका भनिएका ३ जनालाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिमी सीमावर्ती विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ। एमालेको संकल्प यात्रा उदयपुरको घुर्मीबाट कोशी प्रदेश गर्नेछ।
कोशी प्रदेशमा घुर्मीबाट सुरु हुने एमालेको यात्रा भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुग्नेछ। यात्राको अन्तिम विन्दु चिवाभञ्ज्याङ हो।
को प्रदेश नामाकरणबारे असन्तुष्ट ‘पहिचानवादी पक्षधर’हरुल एमालेको संकल्प यात्रामा शान्तिपूर्ण तरिकाले अवरोध पुराउने घोषणा गरेका छन्। पहिचानवादीहरुले कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका ८२ सांसद र एमालेका तीन नेताहरू, अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य महेश बस्नेतलाई पूर्वी पहाड प्रवेशमा अवरोध गर्ने बताउँदै आएका छन्।
एमालेले भने आफ्नो संकल्प यात्रामा अवरोध नगर्न अपिल गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन्। प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै गौतमले पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गरे।
एमालेको संकल्प यात्रामा हुनसक्ने सम्भावित अवरोध र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले पूर्वी पहाडको सुरक्षा व्यवस्था कडा बनाएको छ। पहाडी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तराईका जिल्लाबाट समेत सुरक्षाकर्मीहरु पहाडमा परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।