काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ। यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ।
जसपाले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपाले यसबीच सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्षसमेत निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।