काठमाडौं– उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने जोड दिइन्। बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने उनको भनाइ थियो। उनले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरुले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ। सरकार भनेको सम्पूर्ण जनताहरु हुन्। जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन। आज हरेक सम्प्रदायका मानिसहरु र हरेक ठाउँका विकट ठाउँका जुम्ला कर्णालीदेखि लिएर सुदूरपश्चिमका ठाउँहरुमा तराईका ठाउँहरुमा विकास गर्नु हो भने कुनै समय लाग्दैन, तर दुर्गम छन्, केही विकास पुग्न सकेको छैन। दुःखका कथाहरु धेरै छन्। यौनिक लैङ्गिका मानिसहरु जो पीडित छन्, उनीहरुले नागरिक अधिकार पाएका छैनन्। महिला हिंसासम्बन्धी मात्रै धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन, आवाज बुलन्द हुनुपर्छ। सरकारमात्रै होइन, हामी सबै एक भएर काम गर्नुपर्छ।’
उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।