काठमाडौं- नेपाली कांग्रेसले पार्टीका तर्फबाट बनाउने एक हजार अस्थायी घर-टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि थाल्ने भएको छ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट १००० अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धताका सन्दर्भमा पहिलो चरणमा मिति २०८० कात्तिक २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिम पुगी सुरुवात गरी त्यसयता निरन्तर यस अभियानमा नेतृत्व, समन्वय र सहजिकरण गर्ने केन्द्रीय सदस्यहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवीलाई धन्यावाद ज्ञापन गरेको छ।
अस्थायी घर टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म रहने बताइएको छ। यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर-टहरा निर्माण, समन्वय र सहजिकरणका लागि नयाँ टोली रहने भनिएको छ।
'नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् भने लुम्बिनी प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर-टहरा निर्माणमा खटिनेछ,' बैठकले निर्णय गरेको छ।
घर-टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोही अनुसार निःशुल्क रुपमा घर-टहरा निर्माण कार्य सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।