काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न सोमबार बैठक बोलाएको छ।
उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ। जसअन्तर्गत मधेस प्रदेश बाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन्।
पहिचानका राष्ट्रिय समितिहरुमध्येका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन्।
बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन्। जसपाको मधेस प्रदेश अन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन्।
यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन्। जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेश अन्तर्गतका रहेका छन्। मधेस प्रदेश समितिले पालिका समितिपश्चात् जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात् प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ।
३ महिने अभियानको दौरान जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्यो।
उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।