काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा भएको चलखेलबारे अध्ययन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम थालेको छ।
उक्त समितिको पहिलो बैठक आइतबार बसेको थियो। बैठकले सेयर खरिदसँग जोडिएका सूचनाहरु र जानकारी उपलब्ध गराइदिन एक सूचना जारी गर्दै आग्रह समेत गरेको छ।
सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो। ऐनसेलको मलेसियाको एजियाटा कम्पनीको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बेलायतका एक नेपाली मुलको नागरिकलाई बिक्री गरेको बताएपछि यसमा चलखेल भएको भन्दै आलोचना भएको थियो।
न्यून मूल्यांकनमा खरिद गरेको र खरिद गर्ने कम्पनीको समेत विश्वसनीयता नदेखिएको भन्दै विवाद भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। उक्त समितिका संयोजक शर्माले एक सूचना जारी गर्दै आइतबारबाट औपचारिक रूपमा काम थालेको बताएका हुन्।
मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिन भित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो।
समितिले नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्नेछ। समितिले सरोकारवाला सङ्घ, संस्था, सम्बन्धित विषयका विज्ञसँग आवश्यक छलफल गर्ने संयोजक शर्माको भनाइ छ।
समितिले एनसेल सेयर खरिद–बिक्री सम्बन्धी तथ्यपरक जानकारी भए प्रमाणसहित पठाउन इमेल ठेगाना समेत दिएको छ। समितिले उक्त सेयर खरिदमा भएका चलखेल सहित कर र आगामी दिनमा हुने यस्तो खरिद-बिक्रीलाई रोक लगाउन सक्ने कानुनी संरचना निर्माणका लागि सुझाव समेत दिन सक्ने क्षेत्राधिकार दिइएको छ। सरकारले उच्चस्तरीय समितिले दिने सुझावपछि आगामी कदम चाल्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।