काठमाडौं- गण्डकी प्रदेशका ज्येष्ठ वामपन्थी नागरिकको मिलन कार्यक्रम आयोजना गरिँदैछ। नेपालको राजनीतिक इतिहासको रथलाई अघि बढाउन वैचारिक रुपमा वामपन्थलाई आफ्नो आदर्श मानेर जीवन बिताउनेहरुको योगदानको सम्मान र स्मृतिलाई ताजा राख्ने उद्देश्यले आगामी चैत ३ र ४ गते पोखरामा वामपन्थी ज्येष्ठ नागरिकहरुको मिलन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
सम्मानित वामपन्थी ज्येष्ठ नागरिकहरुसँग अनुभव साटासाट गर्ने र उनीहरुका अनुभवको अभिलेख तयार गरी विभिन्न माध्यमबाट प्रसार तथा प्रकाशन गर्ने उद्देश्यले कार्यक्रम आयोजनन गर्न लागिएको वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम, गण्डकी तयारी समितिका संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए।
आचार्यका अनुसार हालको गण्डकी प्रदेश भित्र पर्ने क्षेत्रमा २०४६ सालअघि विभिन्न मोर्चामा बसेर काम गरेका जेल जीवन बिताएका, प्रवासमा निर्वासित जीवन बिताएका, भूमिगत काम गरेका ७० वर्षभन्दा माथि उमेर समूहका वामपन्थी ज्येष्ठ नागरिकहरु सहभागी हुनेछन्।
नेपालका कम्युनिष्ट पार्टीहरुका विभिन्न घटकमा सामेल भएर र स्वतन्त्र मार्क्सवादी चिन्तकका रुपमा रहेर वामपन्थी आन्दोलनमा सहभागी भएकाहरुलाई कार्यक्रममा सहभागी गराइने वरिष्ठ वामपन्थी लेखक एवं पत्रकार झलक सुवेदीले जानकारी दिए।
नेपालको लोकतान्त्रिक व्यवस्था, निरपक्षेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था सहितको संघीय प्रणाली वामपन्थी राजनीतिक दलको सहभागिता, मार्क्सवादी बौद्धिक विमर्श र हस्तक्षेप बिना अघि बढ्न नसक्ने निष्कर्ष आफूहरुको रहेको सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।