काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन्। उनले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको अजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन्।
उनले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने उल्लेख गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको दाबी गरे।
अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ। उनले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिलसमेत गरे।
अझै पनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका बताए। भातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।