काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका मित्रहरूको सहयोग लिनुपर्ने बताएका छन्। आइतबार बिहान नुवाकोटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै देशको नाम नलिई आफू पनि सहयोग नदिने र चीनले दिने सहयोगको विरोध पनि गर्ने प्रवृत्तिको आलोचना गरे।
'जसले सहयोग गर्छ। त्यो लिइन्छ। नेपाल विकास गर्नुपरेको छ, फलानोको सहयोग चाहिँ लिन पाउँदैनस् भन्ने कुरा हुँदैन। हामी प्रतिस्पर्धी ढंगले चल्छौँ। कुनै देशले हामीलाई चाहिएको जति पैसा दिन्छ भने, एक्लैले दिए पनि हुन्छ। ठीक छ। एक्लैले दिन्छ भने पनि हामी लिन्छौँ। हाम्रो विकास गर्छौँ', उनले भने।
ओलीले पोखरा र भैरहवा विमानस्थल बने पनि प्लेन नउडेकोमा वर्तमान सरकारको आलोचना गरे। भने, 'हामीले पोखरामा विमानस्थल बनायौँ। यो अहिलेको लुते सरकारले किन त्यहाँबाट प्लेन उडाउँदैन? नउडाएको किन? मेरो आपत्ति यो हो। हामीले भैरहवामा एयरपोर्ट बनायौँ। किन उडाउँदैन?'
उनले ती विमानस्थल चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पारेर निर्माण गरेको बताए। 'त्यस कारण उडाउन दिन्नँ, उडाउनु हुँदैन भनेर कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने? जसले सस्तोमा हाम्रो बनाइदिन्छ, त्यसैलाई बनाउन दिनुपर्छ।'
ओलीले सस्तो पाइने ठाउँबाट सामान किन्नुपर्ने र महँगोमा बेच्न सकिने ठाउँमा बेच्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।