काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुने गरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रूपमा पनि आफूले प्रयास गरिरहेको उल्लेख गरे। आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव सहयोग हुने उनको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले सरकार मानव अधिकार संरक्षणप्रति प्रतिवद्ध रहेको र मानव अधिकारको संरक्षणका लागि संविधानमा नै ३१ वटा मौलिक हकको व्यवस्था गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।