काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति बैठक वरिष्ठ नेता राजेन्द्र महतोले बहिस्कार गर्ने भएका छन्। बैठक आइतबार बिहान ११ बजे काठमाडौंमा बस्दैछ।
अघिल्लो पटक केन्द्रीय समिति विस्तार हुँदा सद्भावनाकालदेखि नेता महतोसँगै राजनीति गर्दै आएका करिब ४० नेताहरूलाई अध्यक्ष महन्थ ठाकुरले बाहिरै राखेका थिए। त्यसप्रति नेता महतोले असन्तुष्टि जनाउँदै आएका थिए।
यसअघि पदाधिकारी बैठकमा पनि नेता महतोले यस विषयलाई लिएर असन्तुष्टि जनाएका थिए। अध्यक्ष ठाकुरले उनीहरूलाई समेट्ने बताए पनि कार्यान्वयन गरेका थिएनन्। ‘उहाँले तत्कालै राख्छु भनेर पनि बेवास्ता गर्नुभयो’, महतोले भने।
‘समितिको निर्माण नै गलत तरिकाले भएको छ’, नेता महतोले नेपाल लाइभसँग भने, ‘३० वर्षदेखि राजनीति गरेका तीन दर्जन साथीहरूलाई हटाइएको छ। त्यहाँ गलत भएको छ।’
अध्यक्ष ठाकुरको त्यही शैलीलाई लिएर महतोले बैठक बहिस्कार गर्न लागेका हुन्।
अध्यक्ष ठाकुरद्वारा बोलाइएको आजको बैठकमा यसअघि थपिएका केन्द्रीय सदस्यहरूको सपथ, राष्ट्रिय सभा निर्वाचनमा सहभागिता र संगठन विस्तार लगायतका अजेन्डा तय गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।