काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरुलाई नेतृत्वमा पुर्याउनुपर्ने दाबी गरेका छन्।
महिलाहरुले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै उनले उनीहरुलाई मुलुकको नेतृत्वको पुर्याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने जिकिर गरेका हुन्।
नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकास गर्ने कुरामा बढी ध्यान दिनुपर्ने बताए।
महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने उनको भनाइ थियो। घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्रै उनीहरुमाथि हुने विभेद अन्त्य गर्न सकिने उल्लेख गर्दै मन्त्री आचार्यले त्यस काममा जुटन पनि सबैलाई आह्वान गरे।
मन्त्री आचार्यले महिलाहरु राष्ट्रपति जस्ता माथिल्लो पदमा पुगे पनि महिलामाथि हुने विभेद अन्त्य गर्ने काममा कठिन हुनुमा हाम्रो सामाजिक अन्धविश्वास कुरीति जिम्मेवार रहेको बताए। नेपालको संविधानले महिला सशक्तिकरणका लागि आवश्यक व्यवस्था गरेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।